प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ असार,वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगञ्ज नर्सिङ क्याम्पसको आज खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा क्याम्पसमा खानेपानीको चरम समस्या र अव्यवस्थित सरसफाइले वातावरणमा नकारात्मक प्रभाव पारेको पाइएको छ ।

निरीक्षणका क्रममा हाल सञ्चालनमा रहेको खानेपानीको टंकी जीर्ण अवस्थामा रहेको र पानी चुहिने समस्या देखिएको मन्त्री यादवले औँल्याउनुभयो । उहाँले तत्कालै टंकीको मर्मत सम्भार गर्न वा नयाँ टंकी स्थापना गर्नका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसका साथै, नर्सिङ क्याम्पस परिसरभित्रका नालाहरू खुला रहेको र बिर्ता बस्तीबाट आउने फोहोर पानी सोही नालामा जम्मा हुँदा वातावरण अस्वच्छ भएको गुनासो सर्वसाधारणबाट प्राप्त भएको थियो । यस समस्यालाई गम्भीरतापूर्वक लिँदै मन्त्री यादवले नालाहरूको सरसफाइ, व्यवस्थित ढल निकासको व्यवस्था र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ ।

क्याम्पसमा अध्ययन, अध्यापनका साथै स्वास्थ्य सेवा प्रदान गर्ने वातावरणलाई थप सुरक्षित, सफा र व्यवस्थित बनाउन सबैको साथ, सहयोग र समझदारीको भावनासहित अघि बढ्ने क्याम्पस प्रशासनले जनाएको छ । यसले क्याम्पसको समग्र शैक्षिक तथा वातावरणीय अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार