१ असार, काठमाडौं । पूर्वअर्थमन्त्री एवं सांसद प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा रहेको ‘टेक एन्ड पे’ व्यवस्था सच्याउनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभामा बजेटमाथि छलफलका क्रममा उनले जलविद्युत् क्षेत्रको विकासका लागि यो प्रावधान सच्याएरै अघि बढ्नुपर्ने बताएका हुन्। सांसद महतले धेरै दबाबका बीच पनि व्यावहारिक बजेट आएको स्वीकार गर्दै ३ करोडका आयोजना राख्नु उपयुक्त भए पनि कतिपय टुक्रे आयोजनाहरू समावेश भएकाले तिनलाई कडाइ गर्नुपर्ने सुझाव दिए।
बजेटको आकार ठिकै भए पनि यसको स्रोत कसरी सुनिश्चित गर्ने भन्ने चुनौती रहेको महतको भनाइ छ। उनले थपे, ‘चालु खर्च र साँवा ब्याज तिर्ने दायित्व बढ्दै गइरहेको छ। पुँजीगत खर्च केही बढे पनि खर्च गर्ने क्षमता बढाउनुपर्छ।’















