Logo

२ असार, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जमा सञ्चालन गरिएको गोप्य छापामार अभियानमा लाखौँ रुपैयाँ बराबरको अवैध रेडिमेड लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल पर्सा सीमा सुरक्षा गुल्म, वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–६, रेशमकोठीस्थित दुई नम्बर रोडमा रहेको एक गोदाममा छापा मारेको हो।

विशेष सूचनाका आधारमा गरिएको छापामारीमा बृज किशोर नामक व्यक्तिले रमेश अग्रवालको घरमा कोठा भाडामा लिई गोप्य रूपमा सञ्चालन गरेको गोदामबाट जीन्स पाइन्ट, भेस्ट लगायतका ठूलो परिमाणमा रेडिमेड लत्ताकपडा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा गोदाम बन्द अवस्थामा थियो भने सञ्चालक बृज किशोर हालसम्म सम्पर्कविहीन छन्। घटनास्थलमा वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह (अग्रवाल) को रोहबरमा भन्सार टोलीले बरामद गरिएका सम्पूर्ण सामग्रीको मुचुल्का तयार गरी नियन्त्रणमा लिएको भन्सार स्रोतले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका डिएसपी सुब्बाका अनुसार बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।

सशस्त्र प्रहरी बलको सक्रियता र भन्सार कार्यालयको सहकार्यमा भएको यो संयुक्त कारबाहीले सीमावर्ती क्षेत्रमा हुँदै आएको अवैध व्यापार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै