Logo

२ असार, काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन् ।

उनलाई  जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ । जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए । डा. श्रेष्ठ पूर्वी नवलपरासीस्थित गैँडाकोटका स्थानीय हुन् ।

रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ । उनले सामाजिक सञ्जालमा रामेछापमा बस्दा काम गर्न अप्ठेरो पारिएको भन्दै केही व्यक्तिहरूलाई लान्छाना लगाएर स्ट्याटस लेखेका छन् ।

 


सम्बन्धित समाचार