४ असार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमैनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथ (Truth Social ) मा लेख्दै, हालको परिस्थितिमा आत्मसमर्पण नै खोमैनीका लागि सबैभन्दा सुरक्षित र उपयुक्त विकल्प हुने उल्लेख गरेका हुन् ।
उनले सोसल ट्रुथमा लेखेका छन् , “अमेरिका आयतुल्लाह खोमैनीको अवस्थाबारे पूर्ण रूपमा जानकार छ। आवश्यक परे उनलाई लक्ष्य बनाउन गाह्रो छैन। तर हाललाई हामी उनीमाथि कुनै कदम चाल्नेछैनौं ।”
यो टिप्पणी यस्तो समयमा आएको हो जब इरान र इजरायलबीचको तनाव चरम सीमामा पुगेको छ। गत शुक्रबारदेखि इजरायलले इरानमाथि सैन्य आक्रमण थालेको छ। इजरायली सेना इफाहानसहित तीनवटा आणविक केन्द्रमा हमला गरिरहेको बताइएको छ। इरानको राजधानी तेहरानमा समेत धेरै विस्फोटहरू भएका छन्, जसका कारण सर्वसाधारण त्रसित छन् र ठूलो संख्यामा मानिसहरू राजधानी छाड्न खोजिरहेका छन् ।
इरानले इजरायललाई तेल अभिभ र हाइफा खाली गर्न चेतावनी दिएपछि स्थिति झन् जटिल बन्दै गएको छ। युद्धको स्थितिमा अमेरिकी समर्थनको आशंका भइरहँदा, ट्रम्पले भने स्पष्ट पारेका छन् कि पछिल्लो आक्रमणमा अमेरिका संलग्न छैन ।
“हामी इजरायललाई लामो समयदेखि सैन्य सहयोग गर्दै आएका छौं, तर हालको आक्रमणमा अमेरिकाको प्रत्यक्ष भूमिका छैन,” ट्रम्पको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अहिले विश्वका धेरै नेताहरू ट्रम्पको संभावित कदमबारे विश्लेषण गर्न थालेका छन्। पश्चिम एसियाको यो जटिल स्थिति अझ गहिरिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता बढ्दो छ ।















