४ असार,नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच हालै ३५ मिनेट लामो फोनवार्ता सम्पन्न भएको छ। भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि दुई नेताबीच भएको यो पहिलो प्रत्यक्ष संवाद हो।
भारतका विदेश सचिव विक्रम मिश्रीका अनुसार प्रधानमन्त्री मोदीले ट्रम्पसँग ूअपरेशन सिन्दूरू र भारतको आतंकवादविरुद्धको कडा नीति बारे विस्तृत छलफल गरेका थिए। बीबीसी हिन्दीका अनुसार, प्रधानमन्त्रीले ट्रम्पलाई भारत–अमेरिका व्यापार सम्झौता वा भारत–पाकिस्तानबीच मध्यस्थता जस्ता विषयमा कुनै पनि स्तरमा छलफल नभएको स्पष्ट पारेका थिए।
विदेश सचिव मिश्रीले भने, “प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भने कि भारतले कहिल्यै पनि मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र गर्नेछैन। यो विषयमा भारतमा पूर्ण राजनीतिक एकमत छ।”
राष्ट्रपति ट्रम्पले अघिल्लो समय भारत–पाकिस्तानबीच युद्धविराममा आफ्नो मध्यस्थताको भूमिका रहेको दाबी गरेका थिए। तर, भारतले पटक–पटक त्यस्तो दाबी अस्वीकार गर्दै द्विपक्षीय च्यानलमार्फतै संवाद भएको बताउँदै आएको छ।
मोदीले ट्रम्पलाई भने, “भारत अब आतंकवादलाई छद्म युद्ध होइन, युद्धकै रूपमा लिन्छ। अपरेशन सिन्दूर अझै पनि जारी छ।” ट्रम्पले भारतको आतंकवादविरुद्धको लडाइँमा समर्थन जनाउँदै मोदीद्वारा उठाइएका बुँदाहरू गम्भीरतापूर्वक सुनेका थिए।
यसैबीच, क्यानडाको निमन्त्रणामा जी–७ शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री मोदीले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गरेका छन्। दुई नेताबीच द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ।















