४ असार, काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई आज कम्बोडियाबाट नेपाल ल्याइँदैछ।
उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। प्रहरीका अनुसार, भण्डारी कम्बोडियामा त्यहाँको कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए। उनको पक्राउको सूचना पाएलगत्तै नेपाल प्रहरीले इन्टरपोलमार्फत उनलाई नेपाल ल्याउन पत्राचार गरेको थियो।
नेपाल प्रहरीका अधिकृतहरू उनलाई लिन कम्बोडिया गएका छन्। प्रहरी स्रोतका अनुसार आज राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन्।
कसरी गरेका थिए ठगी
बर्दिया घर भएका भण्डारीलाई ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध अनुसन्धान गरिरहेको छ। यस अपचलन प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। यो प्रकरणले सहकारी क्षेत्रमा देखिएका अनियमितता र वित्तीय अपराधलाई थप उजागर गरेको छ।















