Logo

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई इँटा भट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश, खुसीराम थारु र अर्जुन महर्जन, लाई न्याय परिषदमा तानिएको छ। उनीहरूविरुद्ध यस विषयमा उजुरी समेत परेको थियो।

न्याय परिषदको बिहीबार बसेको बैठकले एक सदस्यीय छानबिन समिति गठन गर्दै दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट झिकाउने निर्णय गरेको परिषद्का एक सदस्यले बताएका छन्।

यसअघि, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर उनीहरूलाई परिषदमा तान्नुपर्ने प्रस्ताव राखेकी थिइन्। तर, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र कानुन मन्त्री अजय चौरसियाले त्यसबेला उक्त प्रस्ताव स्वीकार गरेका थिएनन्। यसैबीच, न्यायाधीश थारुमाथि दुव्र्यवहार भएको घटना पनि बाहिर आएको थियो।

जिल्ला अदालतले आलमलाई जिउँदै इँटा भट्टामा जलाएर मान्छे मारेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले आलमलाई सफाइ दिएपछि यसको देशभर व्यापक चर्चा र आलोचना भएको थियो। उनीहरूविरुद्ध मृतक पिन्टु त्रिलोकका बुबाले समेत न्यायपरिषदमा उजुरी दिएका थिए। यो घटनाले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।


सम्बन्धित समाचार