६ असार, ललितपुर । ललितपुरको ग्वार्कोमा बनेको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ।
४ वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको ओभरपासको आज उद्घाटन गर्न लागिएको हो । उद्घाटपछि यो ओभरपास सवारी आवागमनका लागि खुला गरिनेछ। यो परियोजना २०७८ फागुन १२ गते ठेक्का लागेको थियो तोकिएको समयमा काम नसकिँदा लागतमा १४ करोड रुपैयाँ थप भएको छ। सुरुमा करिब १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँको अनुमानित लागत रहेकोमा, काम सम्पन्न हुँदा ३१ करोड ४६ लाख ५१ हजार ४४० रुपैयाँ पुगेको छ।
यो ठेक्का आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग भएको थियो। सुरुमा २०८० फागुन ११ गतेसम्म काम सम्पन्न गर्ने मिति तोकिएको थियो। तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असार र पुनः २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो। ठेकेदार कम्पनीले बारम्बार म्याद थप गर्दा पनि काम नसकेपछि करिब १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको छ।
ओभरपासका विशेषताहरू
ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ।
यसका साथै ५०० मिटर लामो अप्रोच सडक पनि बनेको छ, जसमा बालकुमारी र सातदोबाटोबाट र्याम्प बनाइएको छ।
चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाई ओभरपास बनाइएको हो।
यसले गर्दा मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधनहरू निर्वाध रूपमा चल्न सक्नेछन्।
यो ओभरपासले ग्वार्को चोकमा हुने ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ।















