Logo

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विद्यार्थीहरूको सुविधाका लागि १० वटा महत्वपूर्ण सेवाहरू अब अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ । यसले विद्यार्थीहरूलाई घण्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार असार १५ गतेदेखि यी अनलाइन सेवाहरू सञ्चालनमा आउनेछन्। “असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ। कार्यालय आउनै पर्दैन,“ उनले भने।

यसअघि परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको र विद्यार्थीले लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको भन्दै आलोचना हुँदै आएको थियो। अनलाइन सेवा सुरु भएसँगै विद्यार्थीहरूले घरबाटै वा जुनसुकै स्थानबाट पनि यी सेवाहरू लिन सक्नेछन्।

अनलाइनबाट उपलब्ध हुने सेवाहरूः
१. त्रिवि रजिष्ट्रेशन आवेदन फाराम
२. परीक्षा आवेदन फाराम
३. ट्रान्सक्रिप्ट आवेदन फाराम
४. प्रोभिजनल सर्टिफिकेट
५. मूल प्रमाणपत्र
६. पुनर्योगका लागि आवेदन फाराम
७. शैक्षिक कागजातमा नाम, रोल नम्बर, रजिष्ट्रेशन लगायत सच्चाउने फाराम
८. विभिन्न सिफारिस पत्रहरू
९. प्रमाणपत्रहरूको प्रमाणिकरण
१०. प्रतिलिपि ट्रान्सक्रिप्ट र मार्कसिट

यो पहलले त्रिविको परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रवाहलाई थप चुस्त र विद्यार्थीमैत्री बनाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार