Logo

८ असार, काठमाडौं । अमेरिकाले इरानका प्रमुख परमाणु केन्द्रहरूमा सैन्य आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रहरूमा आफ्ना सेनाले आक्रमण गरेको पुष्टि गरेका छन् । उनले विशेष गरी फोर्दोमा ‘बमको पूरै पलोड’ खसालिएको जानकारी दिए ।

आक्रमणपछि अमेरिकी विमानहरू इरानी हवाई क्षेत्रबाट सकुशल बाहिरिएको र सबै विमान सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ फर्किरहेको ट्रम्पले बताएका छन् । उनले भने, “हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यस्तो गर्न सक्ने सेना अरु कोहीसँग छैन।” ट्रम्पले अब शान्तिको समय आएको पनि उल्लेख गरेका छन् ।

यो आक्रमण इजरायल र इरानबीच युद्ध चलिरहेका बेला भएको हो, जसले मध्यपूर्वको तनावलाई थप बढाएको छ। इजरायलले जुन १३ देखि इरानविरुद्ध आक्रमण सुरु गरेको थियो। इजरायलका अनुसार, यस अवधिमा १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र चार जवानको हत्या भइसकेको छ।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीका अनुसार, जुन १३ देखि हालसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको छ भने २००० भन्दा बढी घाइते भएका छन्। यद्यपि, इरानको स्वास्थ्य मन्त्रालयले ४३० जना नागरिक मारिएको र ३,५०० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।

यता, इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ। यस अमेरिकी आक्रमणले क्षेत्रमा थप अस्थिरता निम्त्याउने वा शान्तिको नयाँ ढोका खोल्ने भन्नेबारे अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेका छन्।


सम्बन्धित समाचार