Logo

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम अब सुरु भएको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्’ ।ट्रम्पको यो घोषणासँगै इजरायली सरकारले पनि युद्धविराममा सहमत भएको जनाएको छ। तर, इजरायली सरकारले एक विज्ञप्ति जारी गर्दै युद्धविरामका कुनै पनि उल्लंघनको कडा जवाफ दिने चेतावनीसमेत दिएको छ। इरानले यसअघि नै इजरायलले युद्ध रोके आफू पनि युद्धविराम गर्न तयार रहेको बताएको थियो।

यो घोषणा सोमबार राति इजरायलले इरानको तेहरानमा धेरैवटा क्षेप्यास्त्र हानेपछि र त्यसको जवाफमा मंगलबार बिहान इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि आएको हो। इरानको सरकारी सञ्चारमाध्यमले युद्धविराम सुरु हुनुअघि अन्तिम चरणको क्षेप्यास्त्र प्रहारु गरिएको बताएको छ। इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले यी आक्रमणमा चार जनाको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिएका छन्।


सम्बन्धित समाचार