१० असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरेका छन्। उनले आलोचना र टिप्पणी स्वाभाविक भए पनि बजेट देशको समग्र सन्तुलित विकासलाई ध्यानमा राखेर ल्याइएको बताएका हुन्।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायतका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बजेट भौगोलिक, क्षेत्रगत र विषयगत आवश्यकता तथा सन्तुलनका आधारमा तयार पारिएको स्पष्ट पारे। उनले कुनै पनि देशमा बजेटमाथि पूर्ण सहमति र सबै माननीयहरूको सन्तुष्टि नहुने भन्दै आलोचनालाई स्वाभाविक प्रक्रियाका रूपमा लिएको संकेत गरे। “आलोचना, टिप्पणी त जसो गरे पनि हुन्छ,“ उनले भने।
यसैगरी, प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै सम्झौता नगर्ने अडान व्यक्त गरे। उनले आफूमाथि हुने व्यक्तिगत आलोचना र गाली सहने तर सहिद, बलिदान, विगतका संघर्ष, प्रणाली र संविधानको अपमान नसहने बताए। उनले सांसदहरूलाई बोल्दा यी विषयमा संयम अपनाउन पनि आग्रह गरे।

















