११ असार, काठमाडौं । सरकारले हालै चार जना सचिवको सरुवा गरेको छ भने सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को म्याद थप गर्ने निर्णय गरेको छ। असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
सरुवा हुने सचिवहरूमा निर्वाचन आयोगका सचिव भरतमणि सुवेदी लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ भने सोही आयोगका सचिव महादेव पन्थ लाई निर्वाचन आयोगमा सरुवा गरिएको छ। यस्तै, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल महालेखा नियन्त्रकको जिम्मेवारीमा आउनुभएको छ भने डा.खगेन्द्रप्रसाद सुवेदी लाई गण्डकी प्रदेशको मुख्यसचिवको जिम्मेवारी दिइएको छ।
यसैगरी, मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलका डीआईजीद्वय कुमार न्यौपाने र कालिदास धौवजी को म्याद थप गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताउनुभयो।















