Logo

८फागुन, वीरगञ्ज । पर्सामा बन्द गराईएका ९ वटा क्रसर उद्योग मध्ये एउटा मात्रै सञ्चालनमा आउने भएको छ । एउटा क्रसर उद्योगले मात्रै जिल्ला समन्वय समिति पर्साले माग गरेको १० किसिमका कागजपत्र बुझाएको हो ।

गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय पर्साले मापदण्ड पालना नगरेका तथा कानुन अनुसार दर्ता तथा नविकरण नगरेका, सञ्चालन अनुमति नलिई तथा एउटा प्रयोजनको लागि दर्ता भई अन्य प्रयोजनमा सञ्चालनमा रहेका ढुंगा, गिट्टी रोडा तथा बालुवा उत्खनन प्रसोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गरेको थियो ।

क्रसर उद्योग बन्द हुँदा निर्माणको काम प्रभावित भएको गुनासो आउन थालेपछि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सबै जिल्लामा पत्राचार गरी आवश्यक कागजपत्र लिएर अनुगमन पछि बन्द क्रसर उद्योग खोल्ने अनुमति दिन भनेको थियो । त्यसै अनुसार जिल्ला समन्वय समितिले माघ १६ गते सूचना निकालेको थियो ।

सूचनामा ७ दिनभित्र उद्योग दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र, ईजाजत÷सञ्चालन अनुमति पत्र, नविकरण, आर्थिक वर्ष ०७८÷०७९ को करचुक्ता प्रमाणपत्र, प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन, खरिद बिक्रि खाता, चालु आर्थिक वर्षको परिणाम (नदीजन्य पदार्थ), मौज्दात परिणाम र सञ्चालन अनुमतिपत्र बमोजिम स्थानमा सञ्चालन भएको प्रमाणपत्र/ जग्गाधनी प्रमाण पुर्जा पेश गर्न भनेको थियो । त्यसक्रममा ९ वटा मध्ये ५ वटा मात्रै सम्पर्कमा आएका थिए ।

जसमध्ये यादव क्रसर उद्योग मुसैलीले मात्रै आईई प्रतिवेदन सहितको कागजात बुझाएको थियो । बाँकी ४ वटाले आईईई प्रतिवेदन पेश गरेका थिएनन् । यादव क्रसर उद्योगको आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा १३ लाख भन्दा बढी कर चुक्ता गर्न बाँकी थियो । जसले गर्दा उसले करचुक्ता प्रमाणपत्र बुझाएको थिएन ।

वीरगञ्ज–२९ स्थित बालुवा प्रशोधन केन्द्र, जय नेपाल बालुवा प्रशोधन प्रालि, गङ्गा बालुवा उद्योग, पप्पु–स्वछन्द सखुवाप्रसौनीले समेतले अपुरो कागजात पेश गरेका थिए । माघ २६ गते बसेको जिल्ला अनुगमन समितिको बैठकले क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रले पेश गरेका कागजातहरु पुरा नदेखिएकोले बाँकी कागजात पेश गर्न थप १५ दिनको समय दिने निर्णय गरेको थियो ।

पुरा भएपछि उद्योगहरुको स्थलगत अनुगमन गरी प्रक्रिया पुरा गरेको देखिएका उद्योगलाई कारोबार सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । यादव क्रसर उद्योगले फागुन २ गते कर चुक्ताको प्रमाणपत्र बुझाएपछि फागुन ४ गते स्थलगत अनुगमन गरेको अनुगमन समितिका सदस्य ईन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख निरञ्जन प्रसाद सा सोनारले मापदण्ड पालना गर्ने र मागेको कागजात बुझाउने क्रसर उद्योग खोल्दै जाने बताउनुभयो ।


सम्बन्धित समाचार