Logo

२५ असार, वीरगञ्ज । वीरगञ्ज भंसारमा भारतीय गाडी दर्तामा विचौलियाको रुपमा काम गर्ने गिरोहलाई भंसार कार्यालयको संरक्षण रहदै आएको रहस्य खुलेको छ । नेपाल भित्रने भारतीय गाडीको नक्कली कागजपत्र बनाउने र भंसार दर्ता गर्ने गिरोहलाई भंसारका उच्च तहका प्रशासक र सुरक्षा निकायको संरक्षण रहेको तथ्य बाहिर आएको हो ।

भंसारमा लामो समय देखि विचौलियाको रुपमा काम गर्दै आएका नितेश यादव र अनिल यादवलाई भंसार प्रमुख प्रशासक दीपक लामिछानेको संरक्षण रहेको प्रहरीको भनाई छ । केही समय अघि भंसार कर्मचारीसँग लेनदेनको कुरा नमिल्दा कुटपिटको अवस्था सृजना भएको थियो । उक्त कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका अनिल यादवलाई प्रमुख भंसार प्रशासक लामिछानेको अनुरोधमा प्रहरीले छोडेको थियो ।

वीरगञ्ज भंसारमा कार्यरत एकजना कर्मचारीमाथि हातपात गरेको आरोपमा भंसारमा खटिएको सशस्त्र प्रहरीले विचौलिया अनिल यादवलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको थियो । दुवैजना एउटै गाउँका भएका र आपसमा मिलापत्र समेत गरिसकेकोले अनिललाई हिरासत मुक्त गर्न पर्सा प्रहरीलाई अनुरोध गरेको प्रमुख भंसार प्रशासक लामिछानेले स्वीकारे ।

झगडीया दुवै पक्ष मिलेर आएपछि सामाजिक न्यायको हिसावले मैले अनिल यादवलाई छाड्दिन प्रहरी उपरिक्षक (एसपी)लाई फोन गरेको थिए, प्रमुख भंसार प्रशासक लामिछानेले भने, “विचौलियाको आरोपमा नभई हातपात गरेको मुद्दामा उसलाई पक्राउ गरेको हो ।”

भारतीय गाडीसँग विचौलियाहरुले वीरगञ्ज भंसार भित्र लेनदेन गरेको सुचना मसँग छैन, प्रशासक लामिछानेले भने, “विचौलियाहरु रितेश यादव र विक्रम यादवको समूहले रक्सौलमै लेनदेन गर्छन भन्ने कुरा सुनेको छु ।” वीरगञ्ज भंसार एरिया भित्र सादा पोशाकमा समेत प्रहरी खटिएका छन्, त्यहीँ भएर रक्सौलमा नक्कली कागजपत्र बनाउने र लेनदेनको सेटिङ्ग गर्छन भन्ने सुचना मलाई पनि आएको छ, लामिछानेले भने ।

स्रोतका अनुसार वीरगञ्ज भंसारमा करार सेवामा कार्यरत अरुण यादव र विचौलियाको काम गर्ने अनिल यादव विच पैसा लेनदेनको विषयमा विवाद भएको थियो । अनिल यादवले भारतीय नम्वरका गाडीको भंसार पास गर्ने र अरुणले गाडी इन्ट्रीको काम गर्ने थिए । दिनभर नेपाल भित्रिएका गाडीको रेकर्ड अनुसार रकम माग्दा अनिलले नदिएपछि दुवै जना विच हातापाईको स्थिती भएको स्रोतको भनाई छ ।

अरुण यादव बारा जिल्ला बलिरामपुर निवासी हुन भने अनिल यादवको घर इनर्वा हो । स्रोतका अनुसार करारमा नियुक्त भएका अरुणलाई भारतबाट नेपाल भित्रने गाडीको इन्ट्री र भंसार पास गराउने जिम्मेवारी दिइएको छ । दिनभर भारतीय गाडीका नाउँमा जम्मा भएको रकम भोली पल्ट विहान बाडफाँड हुने एक विचौलियाले बताए ।

वीरगञ्ज भंसारमा विचौलियाको विगविगीले भारतीय पर्यटक बोक्ने गाडीका चालकहरु समेत ठगिदै आएको समाचार रेसखवरमा प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि विचौलियाका पक्षमा इनर्वा प्रहरी चौकी समेत देखिएको छ । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले विचौलियाहरुलाई पक्राउ गर्न इनर्वा प्रहरी चौकीलाई निर्देशन दिएको ३ दिन वितिसक्दा पनि प्रहरीले विचौलियालाई पक्राउ गरेको छैन ।

भारतीय गाडीसँग अवैध रुपमा रकम असुल्ने गिरोहका नाइकेहरु खुलेआम वीरगञ्ज बजारमा घुम्दै छन् तर इनर्वा प्रहरी चौकीका इन्चार्ज रोशन कार्कीले भंसार एरियामा उनीहरु फेला नपरेको जवाफ जिल्ला प्रहरी कार्यालयलाई दिएका छन् । उनीहरुको खोजिकार्य भइरहेको छ, पर्साका प्रहरी उपरिक्षक मिश्रले भने, “अवैध कारोवारमा संलग्न विचौलियालाई कानून बमोजिम कार्वाही हुन्छ ।”

नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज भन्सार नाकाबाट नेपाल भित्रिने भारतीय नम्बर प्लेटका गाडीहरूलाई भन्सार कटाउने नाममा विचौलियाहरूको एउटा संगठित गिरोहले दैनिक लाखौं रुपैयाँको अवैध असुल गरिरहेको समाचार रेसखवरले प्रकाशन गरेको थियो ।

भारतीय नम्बरका गाडी लिएर नेपाल प्रवेश गर्ने पर्यटकका चालकहरूले आफ्नो गाडीको सक्कल ब्लुबुक (गाडीको स्वामित्व प्रमाणपत्र० नभएका बेला विचौलियामार्फत प्रतिगाडी १० देखि १५ हजार भारतीय रुपैयाँ कमिसन तिरेपछि मात्र भन्सार पास हुने गरेको चालकहरूले बताएका छन्।

पीडित चालकहरूको भनाइअनुसार, वीरगञ्ज भन्सारका कर्मचारीहरूसँगको मिलेमतोमा स्थानीय इनर्वा र छपकैयाका १०(१२ जना युवाहरूको एउटा समूहले भारतीय गाडीको कागजात जाँच गर्ने र ब्लुबुकको फोटोकपी मात्र भएका चालकहरूसँग रकमको बार्गेनिङ गर्ने गर्दछ।


सम्बन्धित समाचार