२५ असार,काठमाडौं । भारतको गुजरात राज्यस्थित वडोदराको महिसागर नदीमा बनेको एउटा पक्की पुल बुधबार बिहान भत्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। दुर्घटनाका बेला पुलबाट सवारीसाधन नदीमा खस्दा यात्रुको ज्यान गएको हो।
पुल भत्किँदा दुईवटा ट्रक, दुईवटा कार र एउटा रिक्सा गरी पाँचवटा सवारी नदीमा खसेका थिए। एउटा ट्यांकर भने भत्किएको पुलको छेउमा अड्किएको छ।
स्थानीयले ८ जनाको उद्धार गरेका छन् भने उद्धार कार्यका लागि दमकल विभागका तीन टोली खटाइएको थियो। ४५ वर्ष पुरानो यो पुलले मध्यगुजरातलाई सौराष्ट्रसँग जोड्ने गर्दथ्यो।
पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिण गुजरातका सहरहरूबाट सौराष्ट्र पुग्न थप समय लाग्ने भएको छ। अब यात्रुहरूलाई अहमदाबाद भएर लामो बाटो प्रयोग गर्नुपर्नेछ।
घाइतेमध्ये ६ जनालाई पादरा अस्पताल र २ जनालाई वडोदरास्थित सयाजी अस्पतालमा सारिएको छ।
स्थानीय बासिन्दाले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार ४५ वर्ष पुरानो पुलको मर्मतका लागि प्रशासनलाई पटक–पटक जानकारी गराइएको थियो, तर प्रशासनको लापरबाहीका कारण यो दुर्घटना भएको उनीहरूले बताएका छन्।
















