Logo

१० फागुन,वीरगञ्ज । पर्साको वीरगन्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराइदिने लगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पु¥याउने गरेको पाइएको हो ।

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो ६ महिनाको अवधिमा ७३ जनाको भारतका विभिन्न ठाउँबाट उद्दार गरी प्रहरीले नेपाल फर्काएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुस मसान्तसम्ममा भारतको विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । आव २०७८÷७९ मा पर्सा प्रहरीले भारतको विभिन्न शहरबाट एक सय ११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो ।

आव २०७७÷७८ मा ८५ महिला, २२ बालिका र एक बालकको उद्धार गरिएको गिरीले बतउनुभयो । आव २०७८÷७९ मा १ सय ८ जना महिला, १ सय ३३ जना बालिका, ४५ बालक र ४ जना ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकोमा १ सय ५ जना महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेको प्रहरीको भनाई छ ।

आव २०७७÷७८ मा वीरगन्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएका प्रहरीमा उजुरी परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले जानकारी दिनुभयो । संरक्षण नेपालका पारस प्रसादले चालु आवको ६ महिनामा ३७ बालक र १८ बालिकाको भारतका विभिन्न सङ्घ संस्था प्रहरीसित समन्वय गरी उद्धार गरिएको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार