Logo

१०फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले भेडाहा खोला नियन्त्रणको काम सुरु गरेको छ । महानगरपालिकाले वडा २७ देखि ३१ सम्म ५ वडाका निम्ति सुरु गरेको हो ।

राष्ट्रिय योजना आयोगको संपूरक बजेटबाट महानगरपालिकाको कार्यालयले २४ करोड ६३ लाख ५ हजार रुपैयाँ लागतमा भेडाहा खोला नदी नियन्त्रण परियोजना सञ्चालन गरेको हो । ठेकेदार रमन एन्ड विकास ब्रदर्स ज्वाइन्ट भेन्चरका कम्पनीले २०८० असारमा सम्पन्न गर्ने गरी खोलामा १२ किमी लामो तटबन्ध निर्माण गरिरहेको छ ।

खोलाको उत्तर दक्षिण दुवैतर्फ गरी १२ किमि लामो तटबन्ध निर्माण भइरहेको छ  । तटबन्ध माथि साढे ५ मिटर चौडा कच्ची बाटो बन्नेछ । महानगरपालिकाको कार्यालय योजना तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख भरतबहादुर थापाले तटबन्ध निर्माण भएपछि जग्गाको कटान र बस्तीमा बाढी पस्ने समस्यासमेत टर्ने जानकारी दिनुभयो ।

हाल भेडाहा खोला नियमित रूपमा एउटै बाटो भएर नबग्ने, बर्सेनि यसले रुट परिवर्तन गर्दा खोला छेउको खेतीयोग्य जग्गा कटान र मानवबस्तीमा खोलाको पानी पस्ने समस्या कायमै रहेको उहाँको भनाई छ ।

समयमै खोला नियन्त्रण नगरिँदा वडा नं ३१ को बेल्वा सखाप हुने उल्लेख गर्दै उहाँले तटबन्ध निर्माण भएपछि कटान र डुबान दुवै समस्या तत्कालका लागि समाधान हुने बताउनुभयो । परियोजनाको कुल बजेटमध्ये योजना आयोग र महानगरपालिकाले व्यहोर्ने जनाइएको छ । आयोगले करिब ५ करोड रुपैयाँ निकासासमेत गरिसकेको छ  ।


सम्बन्धित समाचार