Logo

११ फागुन,वीरगञ्ज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ । गर्मी सुरु भएसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि नियन्त्रणका लागि ‘फगिङ र पम्प स्प्रे’ मार्फत विषादी छर्न सुरु गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले बुधबारदेखि ‘फगिङ र पम्प स्प्रे’ गर्न थालिएको जानकारी दिनुभयो । पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ फगिङ गरिएको र वडा नम्बर ४ मा पम्प स्प्रे गरिएको उहाँले बताउनुभयो ।

फगिङ्ग मेसिनबाट हावामा मट्टीतेलमा विषादी मिसाएर धुवा छर्ने गरिएको छ भने खुल्ला नालामा पम्पले स्प्रे गरिन्छ । बिहान १० बजेदेखि नै पम्पमा विषादीसहितको घोल बनाएर नाला तथा पानी जमेका स्थानमा छर्कने गरिएको अधिकृत मियाले बताए ।

उहाँका अनुसार फगिङ्ग मेसिनबाट बेलुका ५ बजेपछि धुवाँ छोडिन्छ । चैत ६ गतेसम्म ३२ वटै वडामा लामखुट्टे मार्ने विषादी छर्कनेगरि तालिका बनाइएको छ । लामखुट्टेको लार्भा मार्न बिहान र दिउँसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुका फगिङ्ग गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जमा चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक विषादी छर्ने गरेको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको मेयर राजेशमान सिंहले बताउनुभयो ।

 


सम्बन्धित समाचार