Logo

३२ असार,काठमाडौं । बेलायत सरकारको गोप्य योजनाअन्तर्गत हजारौं अफगानी नागरिकहरूलाई बेलायत पुनर्वास गराइएको र यससँग सम्बन्धित संवेदनशील व्यक्तिगत डाटा चुहावट भएको खुलासा भएको छ। एक बेलायती अधिकारीको लापरबाहीका कारण यो विवरण सार्वजनिक भएको हो।

तालिबानले सन् २०२२ फेब्रुअरीमा अफगानिस्तान कब्जा गरेपछि बेलायत जान आवेदन दिएका करिब १९ हजार अफगानी नागरिकको व्यक्तिगत विवरण चुहावट भएको थियो। यसमा तालिबानबाट जोखिममा रहेका व्यक्तिको नाम, सम्पर्क नम्बर र केही पारिवारिक जानकारीसमेत समावेश थियो।

यो डाटा चुहावटबारे तत्कालीन बेलायती सरकारलाई सन् २०२३ अगस्टमै जानकारी भए पनि यो विषयलाई नौ महिनासम्म गोप्य राखिएको थियो। त्यसपछि मात्रै नयाँ पुनर्वास योजना बनाइएको थियो।

हालसम्म यस योजनाअन्तर्गत ४ हजार ५०० अफगानी नागरिक बेलायत पुगिसकेका छन्। थप ६०० जना र उनीहरूका परिवारहरू अझै बेलायत पुग्न बाँकी रहेको बताइएको छ। यो चुहावटको अस्तित्व र पुनस्र्थापना योजना तीन वर्षभन्दा बढी समयसम्म गोप्य राखिएको थियो।

यस प्रमुख डाटा उल्लंघनको विवरण र त्यसका कारण बेलायतमा बस्न पाउने अधिकार प्राप्त गर्ने अफगानीहरूको संख्या मंगलबार सार्वजनिक गरिएको हो। यस घटनाले बेलायत सरकारको सूचना सुरक्षा र मानवीय सहायतासम्बन्धी नीतिमाथि गम्भीर प्रश्न उठाएको छ।


सम्बन्धित समाचार