Logo

३२ असार,काठमाडौं ।  पोखराको एक सय ३५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने उद्देश्यसहितको डिलमा उच्चपदस्थ सरकारी अधिकारी र मन्त्रीहरूको संलग्नता देखिने अडियो सार्वजनिक भएको छ।

बुधवार सार्वजनिक अडियो अनुसार भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, हालै राजीनामा दिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, तात्कालीन सचिव अर्जुन पोखरेल लगायत उच्च तहका व्यक्तिहरूको संलग्नता उल्लेख गरिएको छ।

अडियोमा पोखराको मालपोत कार्यालय, भूमि आयोग, मन्त्री क्वार्टर हुँदै नयाँबजारका होटलसम्म भएको लेनदेनको विवरण समेटिएको छ। जग्गा मिलाउने प्रक्रियामा तीनै जनाले करिब डेढ करोड रुपैयाँसम्म बटुलेको दाबी गरिएको छ।

यसअघि मंगलबार मन्त्री गुप्ताले राजीनामा दिए पनि बुधबारको नयाँ अडियोले थप सनसनी फैलाएको छ। उक्त अडियोमा मन्त्री अधिकारीले आफ्ना छोरा मार्फत ३२ लाख लिएको, सचिव पोखरेलले होटलमै रकम र उपहार लिएको, तथा अन्य सरुवासम्बन्धी निर्णयमा समेत आर्थिक चलखेल भएको उल्लेख छ।

अडियोका अनुसार मन्त्रिपुत्रहरूको सक्रियता, मन्त्रालयको आन्तरिक सरुवा प्रक्रिया, नियुक्तिमा दबाब, र दलालीको समन्वयजस्ता कार्यहरू खुलेर आएका छन्।

मन्त्री अधिकारीले संसदमा बोलेर आफू निर्दोष रहेको बताए पनि अडियो संवादमा उनको संलग्नता पुष्टि गर्ने खालका संवाद समावेश छन्।

सार्वजनिक अडियोमा देखिएका यस्ता कुराले सरकारभित्रको शक्ति दुरुपयोग, भ्रष्टाचार र दलाली सञ्जालको गम्भीर रुप उजागर गरेको छ। अब यस मामलामा सत्यतथ्य छानबिन र जवाफदेहीको माग चुलिएको छ।


सम्बन्धित समाचार
भर्खरै