१ साउन, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणबाट सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई बिहीबार बिदाइ गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘फेरि भेटौँला’ कार्यक्रमबाट बिदाई गरिएको हो ।
आदर्शनगर स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजित कार्यक्रममा रुङ्गटा वेलफेयर सोसाइटी वीरगन्ज पर्साका अध्यक्ष सुरेश कुमार रुँगटाको प्रमुख अतिथ्यतामा धिमाललाई आगामी सेवाकालिन जीवन सफलताको कामना सहित बिदाई गरिएको छ ।
पर्सामा कार्यरत रहँदा सीमा सुरक्षा र तस्करी नियन्त्रण मात्रै नभई यहाँको सामाजिक जीवनमा समेत उपस्थित भएर सेवा गरेका सशस्त्र प्रहरी उपरीक्षक धिमालको कार्यकाल सफल भएकोमा बधाई दिदै बिदाई गरिएको सञ्चारकर्मी अजित भूजेलले जानकारी दिए ।
सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक समाजका अगुवाहरू, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका कर्मचारी, पत्रकार र सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले उपरीक्षक धिमालको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै उहाँलाई बिदाइ गरेका थिए।
सशस्त्र प्रहरी उपरीक्षक धिमालले पनि पर्सामा रहँदासम्म साथ, सहयोग गरेका सबैलाई धन्यवाद दिदै आगामी दिनमा पर्सावासीलाई सधैं सम्झिरहने बताए ।

















