Logo

२ साउन,काठमाडौं । दक्षिणी सिरियामा पछिल्लो केही दिनयता चर्किएको हिंसात्मक झडपमा कम्तीमा ५९४ जनाको ज्यान गएको छ । बेलायतमा आधारित मानव अधिकार संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (क्इज्च्) का अनुसार, आइतबारदेखि सुरु भएको हिंसाले चरम क्रूर रूप लिएको छ ।

बिहीबार साँझ सार्वजनिक विवरणअनुसार, मारिएकामध्ये ३०० जना ड्रुज समुदायका रहेका छन् । उनीहरूमध्ये १४६ जना लडाकु र १५४ जना सर्वसाधारण रहेको एसओएचआरले जनाएको छ ।

संस्थाका अनुसार, ८३ सर्वसाधारणलाई सीरियाली सरकारले कुनै मुद्दा बिना नै गोली हानी हत्या गरेको हो ।

यस हिंसामा १८ जना बेदुइन लडाकु, २५७ जना सरकारी कर्मचारी, र इजरायली हवाई आक्रमणमा परेर १५ जना सरकारी सुरक्षाकर्मी मारिएको बताइएको छ । इजरायलले ड्रुज समुदायको सुरक्षा सुनिश्चित गर्न हवाई आक्रमण गरेको दाबी गरेको छ ।

यता, ड्रुज लडाकुहरूले पनि जवाफी कारबाहीमा बेदुइन समुदायका ३ नागरिकको मुद्दा बिना हत्या गरेको रिपोर्ट गरिएको छ ।

यद्यपि, अन्तर्राष्ट्रिय मिडियाले सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको प्रस्तुत तथ्याङ्कको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।

दक्षिणी सिरिया हाल जातीय र धार्मिक तनावले अत्यधिक प्रभावित छ, जसमा सरकार, विद्रोही समूह, स्थानीय समुदाय र बाह्य शक्तिबीचको संघर्ष झन चर्किंदै गएको छ ।

विश्लेषकहरूका अनुसार, पछिल्लो हिंसा सीरियामा लामो समयदेखि चलिरहेको गृहयुद्ध र जातीय विभाजनको गहिरो संकटको नयाँ त्रासदी बनेको छ ।


सम्बन्धित समाचार