Logo

४ साउन, वीरगञ्ज । भारतका विभिन्न राज्यहरूमा मनसुन सक्रिय भएसँगै लगातारको भारी वर्षाले जनजीवन प्रभावित पारेको छ । उत्तर भारतदेखि दक्षिण र पूर्वोत्तर राज्यहरूसम्म बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपका घटनाहरू बढिरहेका छन् । मौसम विभागले केही राज्यहरूमा ‘रेड अलर्ट’ जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा मनसुनी वर्षाका कारण १८ जनाले ज्यान गुमाएका छन् । विभिन्न स्थानमा घर भत्किने, करेन्ट लाग्ने र बाढीमा बगेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजस्थानका विभिन्न जिल्लाहरूमा लगातार वर्षापछि बाढीको स्थिति उत्पन्न भएको छ । सडकहरू डुबानमा परेका छन् र केही स्थानहरूमा मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । राज्य सरकारद्वारा उद्धार कार्यलाई तीव्र पारिएको छ ।

उत्तराखण्ड र हिमाचल प्रदेशमा मनसुनको प्रभाव तीव्र रूपमा देखिएको छ । उत्तराखण्डको उत्तरकाशीमा बादल फाट्दा सडक अबरुद्ध भएको छ भने हिमाचल प्रदेशमा नदीहरूको जलस्तर खतराको सीमामा पुगेको छ । मौसम विभागले यी राज्यहरूका लागि ‘रेड अलर्ट’ जारी गर्दै विपद् व्यवस्थापन टोलीहरूलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

अरुणाचल प्रदेश र सिक्किममा लगातारको वर्षाले पहिरोको समस्या निम्त्याएको छ । लोअर सियाङ जिल्लामा सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । यस्तै, सिक्किम र पश्चिम बंगाल जोड्ने मुख्य राजमार्ग–१० मा पनि पहिरो खसेर यातायात ठप्प भएको छ । सम्बन्धित निकायहरूले पहिरो हटाउन उद्धार कार्य जारी राखेका छन् ।

दक्षिण भारतको केरल राज्यमा पनि भारी वर्षाको सम्भावनासहित सतर्कता जारी गरिएको छ । भारतको मौसम विभागका अनुसार, आगामी केही दिन देशका विभिन्न भागहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । बाढी, पहिरो तथा डुबानको जोखिम अझै कायम रहेको हुँदा जनतालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रभावित सबै राज्यहरूमा विपद् व्यवस्थापन टोलीहरू सक्रिय अवस्थामा छन् । उद्धार तथा राहत कार्य तीव्र पारिएको छ, साथै स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेका छन् ।

भारत सरकारले नागरिकहरूलाई मौसम विभागको सूचना नियमित रूपमा हेर्न, आवश्यक पर्दा आपतकालीन सेवाहरूको सम्पर्कमा रहन र पहाडी तथा जलमग्न क्षेत्रहरूमा यात्रा नगर्न सुझाव दिएको छ ।


सम्बन्धित समाचार