Logo

४ साउन,काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको सम्पूर्ण कार्यतालिका अनुमोदन गरेको छ।

आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालका अनुसार, निर्वाचन प्रक्रिया असोज ११ गतेदेखि विधिवत् रूपमा प्रारम्भ हुनेछ। असोज ११ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन्। सोही दिन साँझ ७ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ । उम्मेदवारको प्रकाशित सूचीमाथि कुनै विरोध भएमा असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिनेछ। प्राप्त उजुरी र मनोनयन पत्रमाथि सोही दिन दिउँसो ३ बजेदेखि भोलिपल्ट (असोज २३ गते) बेलुकी ५ बजेसम्म जाँचबुझ गरी निर्णय गरिनेछ।

असोज २३ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिने अवसर दिइनेछ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि, दिउँसो ३ बजेदेखि ६ बजेसम्म योग्य उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको प्रवक्ता पोखरेलले बताइन्। उपनिर्वाचनका लागि कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

यसैबीच, आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई यस उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे पुनः जानकारी गराएको छ।

 


सम्बन्धित समाचार