Logo

७ साउन, वीरगञ्ज । छिमेकी मुलुक भारत बिहारको मधुबनी जिल्लास्थित फुलपरास थाना क्षेत्रमा एक नाबालिग छात्रामाथि सामूहिक बलात्कार भएको छ । कक्षा ९ मा पढ्ने ती छात्रामाथि चार जना व्यक्तिले बलात्कार गरेको आरोप छ । यस घटनामा संलग्न दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य दुई जना अझै फरार छन् ।

यो घटना सार्वजनिक हुनुअघि गाउँको पञ्चायत (ग्राम कचहरी) मा डेढ लाख भारतीय रुपैयाँमा मामिला मिलापत्र गराउने प्रयास भएको र पीडित परिवारमाथि प्रहरीमा उजुरी नगर्न दबाब दिइएको थियो । प्रहरीको सक्रियतामा मात्रै एफआईआर दर्ता भई आरोपीहरू पक्राउ परेका हुन् ।

पीडित परिवारका अनुसार गत जुलाई १४ मा दिउँसोको समयमा नाबालिका छात्रा धानबाली हेर्न बाहिर गएकी थिइन् । त्यसै क्रममा राजेश ततमा, राजदेव महतो र अन्य दुई अज्ञात युवकले उनलाई चक्कु देखाएर जबरजस्ती मोटरसाइकलमा बसालेर एनएच २७ नजिकैको सुनसान ठाउँमा लगी सामूहिक बलात्कार गरेका थिए ।

घटनाको जानकारी पाएपछि पीडित बालिकाका पिताले ग्राम कचहरीस्थित सरपंचको न्यायालयमा न्यायका लागि निवेदन दिएका थिए । तर, कथित रूपमा सरपंचले आरोपी पक्षका मानिसहरूलाई बोलाए पनि कोही पनि उपस्थित भएनन् । पीडित परिवारको भनाइ अनुसार ग्राम कचहरीमा न्याय पाउनुको सट्टा आरोपी पक्षका मानिसहरूले उल्टो ज्यान मार्ने धम्की दिए ।

यो मामिलालाई लिएर पञ्चायतमा एक बैठक पनि बसेको थियो, जहाँ पीडित परिवारलाई डेढ लाख रुपैयाँ दिएर मामिला रफादफा गर्ने सहमति गराउने प्रयास गरिएको थियो । जरिवानाको रकम दिने समयसमेत तोकिएको थियो, तर आरोपी पक्षबाट न त कुनै रकम दिइयो न त पीडित परिवारलाई प्रहरीकहाँ जान दिइएको थियो । आरोपीहरूले पीडित परिवारको घरमा पहरा दिई बसेका थिए ।

अन्ततः केही गाउँलेहरूको सहयोगमा पीडित परिवारले घटनाको करिब एक हप्तापछि फुलपरास थानामा निवेदन दिएर न्यायको गुहार लगाएको थियो । मधुबनीका एसपी योगेन्द्र कुमारले घटनाको सूचना पाउने बित्तिकै दुई जना आरोपीलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको र अन्य दुई अज्ञात व्यक्तिको खोजी तिब्र बनाइएको बताए । उनीहरुलाई पनि चाँडै पक्राउ गरी मुद्दा दायर गरिने एसपी योगेन्द्रको दाबी छ ।

यस घटनाले स्थानीय स्तरमा न्याय प्रणालीको दुरुपयोग र सामाजिक दबाबको गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले यस मामिलालाई गम्भीरतापूर्वक लिएको र फरार आरोपीहरूको खोजीका लागि विशेष टोली परिचालन गरेको जनाएको छ । दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासनमाथि दबाब बढेको छ ।


सम्बन्धित समाचार