७ साउन, वीरगञ्ज । मधेस आन्दोलनका जिउँदो सहित मंसी पटेलले आफू उपचारका लागि अस्पतालमा रहेपनि कसैले वास्ता नगरेको गुनासो गरेका छन् । महानगरपालिका–२८ निवासी मंसी पटेल २०७२ सालको मधेश आन्दोलनमा घाइते भएका थिए ।
उनको शीररको कम्मरदेखि तलको भाग चल्दैन । मधेस आन्दोलनमा प्रहरीको गोली लागेर घाईते भएका पटेलको नेपाल र भारतका विभिन्न स्थानका अस्पतालहरुमा उपचार गरिएको थियो । अहिले विगत ४ दिनदेखि उनी नारायणी अस्पतालमा भर्ना छन्। उनी हाल अस्पतालको बेड नं.११० मा छन् ।
कम्मर मुनिबाट पूरै शरीर सुन्निएको र दिसा–पिसाब भएको र नभएको समेत थाहा नहुने अवस्था रहेको उनले बताए। साथै, घाउ अझै निको नभएको र पछाडिको भागमा गम्भीर चोट रहेको पनि उनले बताए । उनलाई अहिले ज्वरोसमेत आएको छ । तर, उपचारमा लापरवाही भएको गुनासो छ।
‘अस्पतालका डाक्टरले डिस्चार्जको दवाब दिइँदैछ, तर घाउ निको भएको छैन । घाउको उपचार राम्रोसँग गरेर निको भएपछि मात्रै जान्छु ।’ अस्पताल प्रशासनले उपचारमा गम्भीरताका साथ ध्यान नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
चार दिनदेखि अस्पतालमा उपचाररत पटेललाई हालसम्म कुनै पनि राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले भेट्न गएका छैनन्। समाजसेवी प्रकाश थारु र नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले मात्र भेट गर्न आएको उनी बताउछन् ।
जसले ज्यानको बाजी लगाएर आन्दोलनमा होमिए उसैले लडेको व्यावस्थामा अहिले विभिन्न पदमा पुगेका जनप्रतिनिधिहरुले समेत उनलाई वास्ता समेत नगरेको उनको दुखेसो छ । उनले, पीडा पोख्दै भने, ‘अहिले पनि शारीरिक पीडामा छु, उपचारमा लापरवाही भइरहेको छ।’
उनका लागि औषधि मात्र होइन, सुत्नका लागि आवश्यक कपडा समेत छैन। घाउ राम्ररी निको हुने गरी उपचार गरियोस् भन्ने आग्र सहित उपचारमा लपरवाही नगर्न अनुरोध गरेका छन् ।















