९ साउन, बारा । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा हुने एक विशेष कार्यक्रममा सहभागी हुन आउँदै छन् ।
परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली मधेस प्रदेशको यो महत्वपूर्ण ग्रामीण क्षेत्रमा आउन लागेका हुन् ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा एमालेका नेता–कार्यकर्ता उच्च उत्साहका साथ कार्यक्रमलाई सफल बनाउन जुटिरहेका छन् ।
परवानीपुर, पर्सा जिल्लाको प्रमुख सहर वीरगञ्जसँग जोडिएको गाउँपालिका हो । प्रधानमन्त्री ओलीको आगमनले वीरगञ्ज र आसपासका स्थानीयवासीलाई समेत आकर्षित गरेको छ। उनीहरू उत्साहित भएर कार्यक्रममा सहभागी हुने तयारीमा छन् ।
मधेशका किसान र बासिन्दाहरू प्रधानमन्त्रीबाट विशेष सन्देशको अपेक्षामा छन् । सिंचाइ अभाव, खानेपानीको चरम संकट, र कृषि समस्याबाट पीडित मध्य तराई क्षेत्रका नागरिकहरूले प्रधानमन्त्रीबाट राहत र विकाससम्बन्धी ठोस योजनाको घोषणा हुने आशा गरेका छन् ।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले उपस्थित जनसमुदायलाई सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीले मधेश प्रदेशमा सरकारको दृष्टिकोण, आगामी विकास योजनाहरू र जनसरोकारका मुद्दामा धारणा राख्ने अपेक्षा गरिएको छ ।
अखिल नेपाल किसान महासंघका मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताले प्रधानमन्त्रीको यो भ्रमणलाई ऐतिहासिक र प्रेरणादायी बनाउने लक्ष्यका साथ सबै पक्ष लागिपरेको बताए ।
प्रधानमन्त्रीको यो आगमनले स्थानीय स्तरमा विकास, समृद्धि र राजनीतिक सन्देशको नयाँ आयाम दिने विश्वास लिइएको छ ।















