१० साउन, काठमाडौँ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गाजा क्षेत्रमा भयावह भोकमरीको चेतावनी दिँदै करिब एक तिहाइ जनसंख्या धेरै दिनदेखि भोकै बस्न बाध्य भएको जानकारी दिएको छ ।
डब्ल्यूएफपीले बिहीबार जारी गरेको विज्ञप्तिमा गाजामा कुपोषणको अवस्था झन गम्भीर बन्दै गएको र करिब ९० हजार महिला तथा बालबालिकालाई तत्काल पोषण उपचारको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
मानवीय सहायता संगठनहरूका अनुसार यस हप्ताभित्र भोकमरीको अवस्था अझै चर्किने अनुमान गरिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै कुपोषणका कारण ९ जनाको मृत्यु भएको छ ।
इजरायल र हमासबीचको द्वन्द्व सुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको संख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ ।
इजरायलले गाजामा प्रवेश गर्ने सबै सामग्रीमा नियन्त्रण राखेको भए पनि मानवीय सहायता रोकेको दाबी अस्वीकार गर्दै आएको छ । उसले गाजाको बिग्रँदो अवस्था प्रति हमासलाई जिम्मेवार ठहराउँदै आएको छ ।
स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार सन् २०२३ को अक्टोबर ७ यता गाजामा झण्डै ६० हजार मानिसले ज्यान गुमाइसकेका छन्, जसमा ठूलो सङ्ख्यामा महिला र बालबालिका रहेका छन् ।
विश्व खाद्य कार्यक्रम लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले तत्काल युद्धविराम र निर्बाध मानवीय सहायता आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
















