Logo

१३ साउन, वीरगञ्ज । वीरगञ्जको त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तार विरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज (मंगलबार) पनि हुन सकेन। यो मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ।

सडक विस्तारका कारण घरजग्गा गुम्ने भन्दै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा उत्प्रेषणको परमादेश माग गर्दै रिट दायर गरेका थिए। यसअघि साउन ७ गते बुधबार भएको छलफलमा आजका लागि पेसी तोकिएको थियो।

वीरगन्ज महानगरपालिकाका कानुनी सल्लाहकार कमल मोहन पोखरेलले मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको जानकारी दिए। यससँगै सडक विस्तारको विषयमा अनिश्चितता कायमै रहेको छ।

वीरगन्ज– १२ का शीवजी कलवार, वीरगन्ज– ८ की सुशीला देवी रौनियार, वीरगन्ज– १२ की मनोती देवी रौनियार, वीरगन्ज– १६ का चन्द्रनारायण सिंह, वीरगन्ज– १० का राजकिशोर गुप्ता, वीरगन्ज– ८ का गोविन्द प्रसाद अग्रवाल, वीरगन्ज– ८ का राजेशकुमार रौनियार लगायतले असार ३२ गते सर्वोच्चमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए ।

असार ३२ गते दायर उत्प्रेषण रिटमा साउन ५ गते सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले आदेश गर्दै मुद्दाको सन्दर्भमा छलफल गर्न साउन ७ गते बुधबार तोकेको थियो । त्यसदिन पनि छलफल हुन नसकेपछि साउन १३ गते (आज)का लागि तोकिएको थियो ।

आजपनि उक्त मुद्दा हेर्न नभ्याईने सूचीमा परेको छ । यसअघि परेको सडक विस्तार विरुद्धको सबै रिट भने सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।


सम्बन्धित समाचार