Logo

१५ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने विभिन्न वस्तुहरूमा भोलि, अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत एक पोस्ट गर्दै, भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण र ऊर्जा स्रोतहरू खरीद गरिरहेकोप्रति असन्तुष्टि जनाउँदै, उक्त व्यवहारलाई “स्वीकार्य नभएको“ बताएका छन् । उनले स्पष्ट शब्दमा भने, “यदि भारतले अमेरिका होइन, रूससँग कारोबार जारी राख्छ भने, त्यसको आर्थिक मूल्य चुकाउनु पर्नेछ ।”

भारत र अमेरिकाबीच पछिल्ला केही महिनादेखि निष्पक्ष र पारस्परिक लाभदायक व्यापार सम्झौताका लागि वार्ता चलिरहेको थियो। यद्यपि, अहिलेसम्म कुनै औपचारिक सम्झौता भएको घोषणा गरिएको थिएन । ट्रम्पको अचानक निर्णयले दुई देशबीचको व्यापार सम्बन्धमा नयाँ तनाव थपिएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यस घोषणाप्रति प्रतिक्रिया जनाउँदै भनेको छ, “हामी अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको गम्भीरताका साथ अध्ययन गरिरहेका छौँ । यसको सम्भावित प्रभावहरूको मूल्याङ्कन भइरहेको छ ।” मन्त्रालयले आपसी संवादमार्फत समाधान खोजिने संकेत पनि दिएको छ ।

भारतभित्र यस घटनाले राजनीतिक बहसलाई पनि चर्काएको छ। भारतीय काँग्रेस पार्टीले प्रधानमन्त्री मोदीको विदेश नीतिलाई असफल भएको ठहर गर्दै आरोप लगाएको छ कि “मोदी–ट्रम्प मित्रताको मूल्य सिङ्गो देशले चुकाउनु परेको छ ।”

यता, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का केही नेताहरूले शान्त र कूटनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । एक सांसदले भनिन्, “अमेरिकी पक्षसँग फेरि वार्ता गर्न आवश्यक छ, किनभने दुई मुलुकबीचको सम्बन्ध ऐतिहासिक तथा रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।”

ट्रम्पले यसअघि पनि एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै भारतमाथि कडा भन्सार कर लगाउने संकेत दिएका थिए ।


सम्बन्धित समाचार