१९ साउन, वीरगञ्ज । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकाले एमएफएन १७ का च्याम्पियन बनेका रविन्द्र ढाँटलाई नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
भारतको नोएडामा भएको मिक्स मार्सल आर्ट (एमएमए) प्रतियोगितामा रविन्द्रले पाँच पटकका च्याम्पियन चुनरेङ कोरेनलाई हराएर बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए। उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर पनि हुन् ।
सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवले भारतीय च्याम्पियनलाई भारतमै हराएर नेपालको नाम राखेकोमा ढाँटको हौसला बढाउन यो सम्मान दिने निर्णय गरेको बताए ।
रविन्द्रलाई गाउँपालिकामै बोलाएर सम्मान गर्ने योजना छ, तर यदि उनी आउन नसके काठमाडौंमै गएर सम्मान गर्ने अध्यक्ष यादवले जानकारी दिए ।
उनले खेलाडीहरू राष्ट्रका गहना भएको र उनीहरूको मनोबल उच्च राख्न सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
को हुन् रविन्द्र ढाँट ?
रविन्द्र ढाँट बझाङका निवासी हुन् र उनले निर्माण मजदूरको रूपमा जीवन सुरु गरेका थिए । उनले मिक्स्ड मार्शल आर्ट्समा प्रशिक्षण लिँदै आफ्नो जीवनको दिशा परिवर्तन गरे । प्रशिक्षक दिविज पिया लामाको मार्गदर्शनमा उनले थाइल्यान्ड र बालीमा प्रशिक्षण लिएका छन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका छन् ।
















