२० साउन, वीरगञ्ज । ब्राजिलको पराना राज्यमा एउटा अचम्मलाग्दो र दुखद घटना भएको छ। जुलाई २९ मा एउटा बसभित्र २० वर्षीया एक युवतीको हृदयाघातका कारण मृत्यु भएको छ । अनुसन्धानकर्ताहरूले उनको शरीरमा २६ वटा आइफोनहरू टाँसिएको अवस्थामा फेला पारेका छन्। प्रहरीले यस घटनालाई तस्करीसँग जोडेर अनुसन्धान गरिरहेको छ ।
गुआरुपुआभा सहरको एक रेस्टुरेन्टमा बस रोकेका बेला ती युवती बिरामी परेकी थिइन्। उनलाई सास फेर्न गाह्रो भएपछि हृदयाघात भएको थियो । डाक्टरहरूको टोलीले ४५ मिनेटसम्म प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन् । घटनास्थलमै उनको मृत्यु भएपछि शवलाई फरेन्सिक जाँचका लागि पठाइएको थियो ।
अनुसन्धानका क्रममा उनको शरीरमा विभिन्न प्याकेटहरू टाँसिएको र झोलामा पनि मोबाइल फोन र पेय पदार्थहरू लुकाएको फेला परेको थियो । यसले उनी अवैध सामानको तस्करीमा संलग्न रहेको भन्ने प्रहरीको शंकालाई बल पुर्याएको छ । प्रहरीले बरामद गरिएका २६ वटा आइफोनहरू संघीय राजस्व सेवालाई बुझाएको छ ।
स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै प्रहरीले भनेको छ, “प्रारम्भिक अनुसन्धानअनुसार ती युवती फोस डो इगुआसुबाट साओ पाउलो जाँदै थिइन् र उनी एक्लै थिइन् ।” प्रहरीले उनको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक रिपोर्टको प्रतीक्षा गरिरहेको छ ।
घटनाको थप अनुसन्धान जारी रहेकाले प्रहरीले हालसम्म ती युवतीको परिचय खुलाएको छैन ।
ब्राजिलमा स्मार्टफोनको तस्करी एक ठूलो समस्या हो । छिमेकी देश पाराग्वेबाट सस्तोमा फोन ल्याएर ब्राजिलमा तस्करी गर्ने चलन सामान्य छ । तथ्याङ्कअनुसार, ब्राजिलमा हरेक दिन करिब १० हजार मोबाइल फोन तस्करी हुने गर्छ। यो घटनाले मोबाइल फोन तस्करीको जोखिमलाई उजागर गरेको छ ।
















