२० साउन, काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा मंगलबार बादल फुटेका कारण हर्सिल क्षेत्रमा रहेको खीर गंगा गदेराको पानीको बहाव बढेर ठूलो क्षति पुगेको छ। यस घटनामा हालसम्म चार जनाको मृत्यु भएको र थुप्रै सम्पत्तिमा क्षति भएको अधिकारीहरूले जनाएका छन्।
उत्तरकाशीका डीएम प्रशान्त आर्यले चार जनाको मृत्यु भएको र केही सम्पत्तिमा क्षति पुगेको जानकारी दिएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै आफू वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको बताएका छन्। उनले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, “बादल फुटेको खबर आएको छ। पानीसँगै भग्नावशेष पनि तीव्र गतिमा आएको छ। हाम्रो प्राथमिकता छिटोभन्दा छिटो राहत र उद्धार कार्य सम्पन्न गर्नु हो।”
मुख्यमन्त्री धामीका अनुसार एनडीआरएफ, एसडीआरएफ र विपद् व्यवस्थापन विभाग उद्धार कार्यमा निरन्तर खटिरहेका छन्। उनको मुख्य प्राथमिकता सबैलाई सुरक्षित राख्नु र जीवन तथा सम्पत्तिको रक्षा गर्नु रहेको छ।
धराली गाउँकी एक स्थानीय आस्थाले बीबीसी हिन्दीलाई बताए अनुसार, “मैले मेरो घरको छतबाट धेरै होटलहरू बगाएको देखें। धरालीको पूरै बजार ध्वस्त भएको छ।” उनले घटनाअघि कुनै पनि प्रकारको चेतावनी नदिइएको बताइन्। उनका अनुसार घटना भएको बेला गाउँलेहरू पूजामा गइरहेका थिए, र अहिले धेरै मानिस बेपत्ता छन्। गाउँलेहरू ज्यान जोगाउन प्रयास गरिरहेका छन्।
















