Logo

२० साउन, काठमाडौं ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने निर्णय गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। यस निर्णयसँगै इजरायली सेनाले गाजाको सम्पूर्ण क्षेत्रमा सैन्य कारबाही विस्तार गर्ने तयारी गरेको छ।

अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका व्यक्तिहरू रहेको स्थानसम्म सैन्य कारबाही चलाउने योजना बनाएको छ। इजरायलको च्यानल–१२ ले प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो निर्णय भइसकेको बताएको छ। ती अधिकारीले भने, “हमासले आत्मसमर्पण नगरेसम्म बन्धकहरूलाई छोड्ने छैन। यदि हामीले अहिले कारबाही गरेनौं भने, बन्धकहरू भोकले मर्नेछन् र गाजा हमासकै नियन्त्रणमा रहनेछ।“

यो निर्णयमा मंगलबार इजरायलको युद्ध मन्त्रिपरिषद्को बैठकमा औपचारिक रूपमा छलफल हुने अपेक्षा गरिएको छ।

गाजामा मानवीय संकटः

इजरायलको निरन्तर सैन्य कारबाहीले गाजाको मानवीय अवस्था झन् बिग्रिएको छ। खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावका कारण धेरै प्यालेस्टाइनीहरू भोकमरी र रोगको चपेटामा परेका छन्।

अक्टोबर २०२३ देखि सुरु भएको इजरायली सैन्य कारबाहीयता हालसम्म कम्तीमा ६० हजार ९ सय ३० प्यालेस्टाइनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेहरूमध्ये १८ हजार ४ सय ३० जना बालबालिका छन्। सोमबार मात्रै इजरायली आक्रमणमा ७४ प्यालेस्टाइनी मारिएका थिए, जसमध्ये ३६ जना सहायता खोज्न गएका व्यक्तिहरू थिए। इजरायलले लगाएको नाकाबन्दीले मानवीय सहायताको प्रवेशमा पनि कठिनाइ भएको छ।

प्यालेस्टाइनी विदेश मन्त्रालयले इजरायलको यो योजनाको कडा निन्दा गर्दै तत्काल हस्तक्षेपका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। मन्त्रालयले यो योजनालाई रोक्न आह्वान गर्दै यसले थप तनाव र संकट निम्त्याउने चेतावनी दिएको छ।


सम्बन्धित समाचार