२३ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मेयर साहले एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो। मेयर साहले नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्काको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिचौलियामार्फत घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको थियो।
अख्तियारको थप अनुसन्धानले मेयर साहले घुस लिएको पुष्टि गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मेयर साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गरिएको छ।

















