२५ साउन, वीरगञ्ज । नेपालको छिमेकी मुलुक भारतको बिहारस्थित राजधानी पटनामा एक नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । भारतिय प्रहरीका अनुसार, घटना ५ अगस्ट बिहान करिब ४ बजे पटना एयरपोर्ट थाना क्षेत्रमा भएको हो ।
नेपाली युवतीलाई सौतेनी आमा र दाजुभाइले पैसा कमाउन दबाब दिएपछि बाध्य भएर घर छोडेर नेपालबाट भारत पुगेकी हुन् । ४ अगस्तको रातिमा युवती सिलीगुडीबाट रेल चढेर पटना जंक्शनमा ओर्लेकी थिइन् । ५ अगस्ट बिहान करिब ४ बजे, स्टेशनमा एक्लै देखेर एक निजी बसका चालकले उनलाई जागिर दिलाइदिने भन्दै आफ्नो बसमा राखेर लगेको आरोप छ । युवतीले आफूलाई अज्ञात स्थानमा लगेर बलात्कार गरेको बयान दिएकी छन् ।
घटनापछि अपराधीले युवतीको पैसा र मोबाइल पनि लुटेर फरार भएको बताइएको थियो । घटनाको जानकारी सबैभन्दा पहिले गोरखा समाज सेवा समितिका अध्यक्ष सुरज थापालाई दिइएको थियो । उनले मंगलबार बिहान करिब ३ बजे गांधी मैदानबाट एक रोइरहेकी नेपाली युवतीबारे फोनमार्फत जानकारी पाएका थिए ।
थापा आफ्नी पत्नीसहित घटनास्थल पुगेर युवतीलाई आफ्नो घर लगेका थिए । सोधपुछका क्रममा युवतीले आफूमाथि भएको घटनाबारे बताएकी थिइन् । त्यसपछि ६ अगस्त, बुधबार, थापाले पीडित युवतीलाई लिएर एयरपोर्ट थाना पुगी प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।
घटनाको जानकारी पाएपछि सचिवालय एसडीपीओ डा. अनु कुमारी थाना पुगिन् र घटनास्थलको पनि निरीक्षण गरिन् । प्रहरीले घटना दर्ता गरेर अनुसन्धान सुरु गरेको गर्यो ।
दुई जना पक्राउ
यस घटनामा भारतिय प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य आरोपी बस चालक कार्तिक राय र उनका सहयोगी सुनील कुमार रहेका छन् ।
पाटलिपुत्र जंक्शन रेलवे स्टेशनमा राति बसिरहेकी नेपाली युवतीलाई देखेपछि, नेपाली भाषा बोल्न पोख्त कार्तिक रायले जागिर दिलाइदिने भन्दै विश्वास जितेर उनलाई आफ्नो साथमा लगेको स्वीकार गरे
कार्तिकले युवतीलाई आफ्नो सहयोगी सुनील कुमारको घरमा लगे र पछि बसभित्रै बलात्कार गरे । अपराधपछि प्रमाण नष्ट गर्नका लागि आरोपी कार्तिकले बस पनि सफा गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार, मुख्य आरोपी कार्तिक राय मुजफ्फरपुरका बासिन्दा हुन्, विवाहित छन् र उनको एक छोरा पनि छन् । घटनापछि उनी कोलकाता भागेका थिए । त्यहाँ उनले पीडितका सामान बेचे । पटना फर्कने क्रममा उनलाई बरौनीमा रेलबाट पक्राउ गरिएको हो । उनको साथबाट पीडितको परिचयपत्र, नेपाली सिमकार्ड र अन्य सामान बरामद भएको छ ।
अर्का सहआरोपी सुनील कुमारलाई भने औरंगाबादबाट पक्राउ गरिएको हो । उनले कार्तिकलाई आश्रय र सहयोग दिएको आरोप छ । प्रहरीले दुवै आरोपीलाई अलग–अलग स्थानबाट पक्राउ गरेको र घटनामा प्रयोग भएको बस पनि जफत गरेको छ ।
पटना सेन्ट्रल एसपी दीक्षाले यस घटनाको थप अनुसन्धान भइरहेको र यस जघन्य अपराधमा अरू कसैको संलग्नता थियो कि थिएन भन्नेबारे पत्ता लगाइने जानकारी दिएकी छिन् ।
यो घटनापछि सामाजिक सञ्जाल र विभिन्न संघ–संस्थाहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै न्यायका लागि आवाज उठाएका छन् । नेपाल र भारतबीचको ’बेटी–रोटी’ सम्बन्धमा यस्ता घटनाले नकारात्मक असर पार्ने भन्दै यस्तो अपराधमा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको छ ।
भारतिय प्रहरी अनुसन्धानको अडियो :

















