२५ साउन,काठमाडौं । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या २१२ पुगेको छ, जसमा ९८ बालबालिका रहेका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा इजरायली सैन्य आक्रमणमा कम्तीमा ३८ जनाले ज्यान गुमाएका छन् भने ४९१ जना घाइते भएका छन्। यतिबेला गाजामा मानवीय संकट झनै चुलिँदै गएको छ।
यसैबीच, इजरायलले गाजा सहरको नियन्त्रण लिने औपचारिक घोषणा गरेको छ। गाजावासीलाई शहर खाली गर्न आगामी ७ अक्टोबर २०२५ सम्मको समयसीमा दिइएको समाचार स्रोतहरूले जनाएका छन्।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा, इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजामा युद्ध अन्त्य गर्नका लागि नयाँ योजना अनुमोदन गरेको छ। यस योजनामा पाँचवटा “सिद्धान्तहरू” उल्लेख गरिएका छन्, जसमा ‘गाजामाथि सुरक्षा नियन्त्रण कायम राख्नु’ मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ।
मानवअधिकारवादी संस्था र अन्तर्राष्ट्रिय समुदायले गाजामा बढ्दो मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्।

















