२८ साउन,काठमाडौं । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भारी हवाई आक्रमण गरिरहेको जनाएको छ। इजरायली सेनाले गाजा क्षेत्रमा थप सैन्य कारबाही गर्दै गाजा पूरै नियन्त्रणमा लिने तयारी गरिरहेको समेत संकेत दिएको छ।
नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलले गाजाको जैतुन र साब्राका आवासीय क्षेत्रहरू तीन दिनदेखि बम र ड्रोन आक्रमणको चपेटामा परेको जनाएका छन्। उनका अनुसार आक्रमणले “नागरिक घरहरूमा ठूलो क्षति पु¥याएको“ छ।
मानवीय संकट गहिरिँदै गएका कारण बेलायत, युरोपेली संघ, अष्ट्रेलिया, क्यानडा र जापानले संयुक्त विज्ञप्ति जारी गर्दै “हाम्रो आँखा अगाडि अनिकाल बढ्दै गएको“ बताएका छन्। उनीहरूले गाजामा अनिकाल रोक्न तत्काल कदम चाल्न आह्वान गरेका छन्।
विज्ञप्तिमा गाजामा राहत सामग्रीहरूको अवरोध हटाउन “तत्काल, दिगो र ठोस कदम चाल्न” अन्तर्राष्ट्रिय समुदायलाई अपील गरिएको छ। तर, इजरायलले भने गाजामा अनिकाल नरहेको दाबी गर्दै आएको छ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गर्दा १,२०० भन्दा बढी मानिसको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको थियो। उक्त हमलाको प्रतिकारमा इजरायली आक्रमणले गाजामा हालसम्म कम्तीमा ६१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।
यो मृत्युको तथ्याङ्क हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको हो, जसलाई संयुक्त राष्ट्र संघले विश्वसनीय मान्दै आएको छ।
गाजामा लगातार भइरहेको आक्रमण र मानवीय संकटका बीच अन्तर्राष्ट्रिय समुदायबाट युद्धविरामको माग झनै तीव्र बन्दै गएको छ।

















