Logo

२८ साउन,स्पेन । दक्षिणी युरोप अत्यधिक गर्मीको चपेटामा परेपछि इटाली, फ्रान्स, स्पेन र पोर्चुगलसहित बल्कन क्षेत्रका विभिन्न स्थानहरूमा डढेलोको जोखिम तीव्र रुपमा बढेको छ। स्पेनको कतिपय स्थानमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

स्पेनको मौसम विभागले सेभिया र कोरडोबाजस्ता क्षेत्रमा तापक्रम ४५ डिग्रीसम्म पुग्न सक्ने चेतावनी दिएको छ भने दक्षिणी पोर्चुगलमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। गर्मीका कारण स्पेनको इक्वेसिट्रयन क्षेत्रमा केही व्यक्तिको ज्यान गएको पुष्टि भएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो साँचेजले उद्धार टोलीहरू प्रभावित क्षेत्रमा सक्रिय रहेको जानकारी दिएका छन्। उत्तर पश्चिमी स्पेनमा आगलागीका कारण करिब चार हजार मानिस विस्थापित भएका छन्। ३० स्थानमा लागेको डढेलोका कारण युनेस्कोको विश्व सम्पदा सूचीमा पर्ने लास मेडुलासजस्ता ऐतिहासिक स्थलहरू समेत जोखिममा परेका छन्।

त्यस्तै, दक्षिणी प्रान्त एन्डालुसियाको प्रमुख पर्यटकीय केन्द्र टारिफाबाट पनि करिब दुई हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलो नियन्त्रणमा ल्याउन स्पेनी सैन्य आपत्कालीन सेवाबाट एक हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ।

पोर्चुगलमा पनि तीन ठूला डढेलोका घटनाहरू रिपोर्ट भएका छन्। ती क्षेत्रहरूमा आगो निभाउने प्रयास जारी रहेको र स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण यस्ता गर्मीको लहर र डढेलोका घटनाहरू अझ बढ्दै जाने सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय समुदायले यस्ता प्राकृतिक प्रकोपसँग जुध्न दीर्घकालीन रणनीतिमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।


सम्बन्धित समाचार