Logo

३१ साउन, सर्लाही ।  सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात व्यक्तिबाट गोली प्रहार हुँदा ४० वर्षीय रामपुकार यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार, राति करिब ८:२० बजे आफ्नै घर अगाडि छिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार, ती आक्रमणकारीले ‘रामपुकार को हो?’ भनेर सोधेर नजिकै पुगेर पेस्तोलबाट टाउकोमा गोली प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका यादवलाई तत्कालै आफन्तले महोत्तरीको सोनामा गाउँपालिका पर्सास्थित जानकी हेल्थ केयर पुर्याए, तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए ।

यादव पहिला शिक्षक थिए । तर हाल उनी खेती किसानी गर्दै घरमै बस्दै आएका थिए । हत्या किन गरियो भन्ने कारण भने अहिलेसम्म खुलेको छैन।

प्रहरीले घटनास्थलबाट प्रारम्भिक प्रमाण संकलन गरेको र दुई आक्रमणकारीको खोजीका लागि विशेष टोली परिचालन गरेको डीएसपी राईले बताए ।


सम्बन्धित समाचार