१ भदौ,काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षा र ’क्लाउड ब्रस्ट’ का कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (एम्ःब्) ले जारी गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी बुनेर जिल्ला प्रभावित भएको छ, जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाले ज्यान गुमाएका छन्। यसैगरी, १२८ जना घाइते भएका छन् भने ५० जना अझै बेपत्ता रहेको बताइएको छ।
बाढी प्रभावित अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ। शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५, र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ।
यस भयावह स्थितिलाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ।

















