१ भदौ,काठमाडौं । रसियाको पश्चिमी रायजान क्षेत्रको शिलोव्स्की जिल्लास्थित लेस्नोइ नामक स्थानमा रहेको एक औद्योगिक कारखानामा शनिबार भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ भने करिब १३० जना घाइते भएका छन्।
रसियाली आपत्कालीन व्यवस्थापन मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै घटनास्थलमा मलबा हटाउने क्रममा थप दुई शव फेला परेसँगै मृतकको सङ्ख्या ११ पुगेको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार उद्धार कार्यमा ३६० भन्दा बढी आपत्कालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालित गरिएको छ। मलबाभित्र फसेका केही व्यक्तिको अवस्थिति उद्धार कुकुर टोलीको सहयोगमा पहिचान गरिएकाले जीवनरक्षा कार्यमा सहायता पुगेको जनाइएको छ।
आगलागी स्थानीय समयअनुसार बिहान १०:३० बजे कारखानाको उत्पादन कार्यशालाबाट सुरु भएको थियो। आगलागीको कारण के हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ।
स्थानीय अनुसन्धान निकायहरूले प्रारम्भिक रूपमा यस घटनालाई औद्योगिक सुरक्षा नियम उल्लङ्घनको दृष्टिकोणबाट लिएर गम्भीर अनुसन्धान थालेका छन्।
घाइतेहरूको अवस्था बारे विस्तृत विवरण आउन बाँकी छ भने घटनास्थलमा उद्धार र नियन्त्रण कार्य जारी छ।

















