Logo

१ भदौ,गाजा पट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली सेनाको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको पुष्टि गरेको छ। यो आक्रमणलाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत गरिएको ठूलो कारबाहीको संकेतका रूपमा लिइएको छ।

२२ महिनादेखि चलिरहेको युद्धले गाजा पट्टीमा गम्भीर मानवीय संकट निम्त्याइरहेको छ। इजरायली सरकारले एक हप्ता अघि मात्र गाजा सहर कब्जा गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, आइतबारदेखि गाजामा थप पाल र आश्रय सामग्री पठाउने तयारी गरिएको इजरायली सेनाले जनाएको छ।

तर, हमासले यस कदमको कडा विरोध गर्दै यसलाई “गाजा सहर कब्जा गर्ने क्रुर योजना“को हिस्सा भनेको छ।

गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले गाजा सहरको जितुन क्षेत्र अत्यन्तै खराब अवस्थामा पुगेको बताएका छन्। उनका अनुसार, त्यहाँ करिब ५० हजार मानिस वसोवास गर्दै छन्, जसमा अधिकांश खाना, पानी र अन्य आधारभूत सुविधाबाट वञ्चित छन्।

स्थानीय बासिन्दाहरूले गाजा सहरका आवासीय क्षेत्रमा निरन्तर हवाई आक्रमण भइरहेका बताएका छन्। यता, इजरायली सेनाले भने आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानुनअनुसार भएको दाबी गर्दै नागरिक क्षति कम गर्न प्रतिबद्ध रहेको जनाएको छ।

एक स्थानीय बासिन्दा घसन कास्कोले भने, “हामीलाई निद्राको स्वाद थाहा छैन। विस्फोट र बमबारी कहिल्यै रोकिन्न।“

शनिबार मात्रै, सहायता वितरण स्थल नजिकै इजरायली सेनाले गोली चलाउँदा खाना लिन लाइनमा उभिएका १३ जना प्यालेस्टिनीको ज्यान गएको पनि जनाइएको छ।

संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायता कटौती गरेकाले गाजामा ठूलो अनिकालको जोखिम बढेको चेतावनी दिएका छन्।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको यस युद्धमा हालसम्म १,२१९ जना इजरायलीको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।


सम्बन्धित समाचार