Logo

३ भदौ,इस्लामाबाद । पाकिस्तान प्रशासित कश्मीरमा लगातारको अविरल वर्षाका कारण सोमबार कम्तीमा ६ जनाको ज्यान गएको छ भने एक महिला बेपत्ता भएकी छिन्। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भारी वर्षाका कारण दर्जनौं घरमा क्षति पुगेको छ।

प्राधिकरणका अनुसार वर्षाका कारण आठ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। मौसममा आएको विपरीत प्रभावका कारण सुरक्षाका दृष्टिले यस क्षेत्रका शैक्षिक संस्थाहरू आगामी अगस्ट २३ सम्मका लागि बन्द गरिएका छन्।

पुछ विश्वविद्यालयकी व्याख्याता डा. गुल लाला कार बाढीको भेलमा परेकी थिइन्। उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि उनको शव तरार नालीबाट निकालेको हो।

प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार रावलकोट क्षेत्रमा मात्र सात घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २२ घर आंशिक रूपमा प्रभावित भएका छन्। निलम जिल्लामा वर्षासँग सम्बन्धित सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ र एक जना गम्भीर घाइते भएका छन्। भिम्बर जिल्लामा पनि वर्षाका कारण थुप्रै घर प्रभावित भएका छन्।

स्थानीय प्रशासनले जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ भने उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको बताइएको छ।

प्रभावित क्षेत्रमा उद्धार टोली, सेना र स्थानीय निकाय मिलेर राहत तथा पुनःस्थापनाको काममा जुटिरहेका छन्। मौसम विभागले अझै केही दिनसम्म भारी वर्षा हुने चेतावनी दिएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित समाचार