Logo

४ भदौ, काठमाडौँ । दुई वर्षअघि सुरु भएको इजरायली आक्रमणमा परी गाजामा हालसम्म १८ हजार ८८५ बालबालिकाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ।

अल जजिराले अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, हालसम्म मारिएका ६२ हजार नागरिकमध्ये करिब एक तिहाइ बालबालिका रहेका छन् । प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिएका छन् ।

लगातारको बमबारीका कारण गाजामा घरधुरी ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित आश्रयस्थलमा बसेका नागरिकलाई समेत इजरायलले निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच, अमेरिकाले अघि सारेको युद्धविराम प्रस्तावप्रति हमास समूह सहमत भएको छ । प्रस्तावअनुसार, हमासले पहिलो चरणमा १० जीवित र १८ मृतक गरी २८ जना बन्धक रिहा गर्ने जनाएको छ। यसको बदलामा इजरायलले आजीवन कारावास पाएका १४० जना, १५ वर्षभन्दा बढी सजाय पाएका ६० जना र मुद्दा नचलाइएका सबै प्यालेस्टाइनी नाबालिग तथा महिला कैदीलाई रिहा गर्नुपर्नेछ ।

तर इजरायलले भने सबै बन्धकको एकैपटक रिहाइ हुनुपर्ने अडान लिएको छ । इजरायलको दाबीअनुसार, हमाससँग रहेका ५० बन्धकमध्ये २० जना मात्र जीवित छन्।

इजरायलको यस अडानका कारण हमासले प्रस्तावित ६० दिने युद्धविराम स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल कायमै रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।


सम्बन्धित समाचार