Logo

४ भदौ, काठमाडौं ।  भारत र चीनबीच सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न सहमति भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच मंगलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा यो सहमति बनेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्यसमेत रहेका वाङ यीले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्दै सीमा व्यवस्थापनमा आपसी संयम र संवादको माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता जनाए। दुवै पक्षले संवेदनशील सीमा क्षेत्रलाई उचित रूपमा व्यवस्थापन गर्ने, द्वन्द्वबाट टाढा रहने र वार्ता पुनः सुरु गर्ने विषयमा सहमति जनाएका छन्।

विदेशमन्त्री वाङले आफ्नो भारत भ्रमणलाई दुई देशबीचको विश्वास पुनःस्थापनाको अवसर भन्दै चीन–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। उनले बहुपक्षीय मञ्चहरूमा सहकार्य, आपसी लाभका आधारमा साझेदारी, र एकपक्षीय कदमबाट बच्न सहमति भएको जानकारी दिए।

भेटवार्ताको क्रममा प्रधानमन्त्री मोदीले भारत–चीन दुवै प्राचीन सभ्यताका प्रतिनिधि भएको उल्लेख गर्दै मैत्रीपूर्ण सम्बन्धको ऐतिहासिक पृष्ठभूमि स्मरण गरे। ‘भारत र चीन प्रतिद्वन्द्वी होइनन्, साझेदार हुन्,’ मोदीले भने। ‘दुबै देशले आपसी समझदारीलाई बढाउँदै सहकार्य विस्तार गर्नु आवश्यक छ।’

मोदीले यो वर्ष भारत–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वार्षिकोत्सव भएको उल्लेख गर्दै दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। साथै, एसियाली शताब्दीको सम्भावना भारत–चीन सहकार्यसँग प्रत्यक्ष जोडिएको र मानवताको हितका लागि संयुक्त प्रयास अपरिहार्य भएको धारणा राखे।

शांघाई सहयोग संगठन (SCO) को आगामी तियानजिन शिखर सम्मेलनमा सहभागिताका लागि आफू उत्साहित रहेको बताउँदै प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउने प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

वाङले मोदीको भनाइको समर्थन गर्दै कजान बैठकपछि बनेका सहमतिहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए। उनले भारत–चीन सम्बन्धको रणनीतिक महत्त्व झनै बढेको बताउँदै, दुई देशबीचको सहयोगले सम्पूर्ण क्षेत्र र विश्वकै हितमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यस सहमतिलाई दुई छिमेकी देशबीचको सम्बन्धमा सकारात्मक मोडको रूपमा हेरिएको छ।


सम्बन्धित समाचार