Logo

४ भदौ, काठमाडौं ।  अफगानिस्तानमा भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जना बालबालिका रहेको बताइएको छ।

बीबीसीले तालिबान सरकारका एक अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, दुर्घटनामा परेका अधिकांश यात्रुहरू इरानबाट निष्कासित अफगानी प्रवासी थिए, जसलाई बसमार्फत काबुलतर्फ लगिँदै थियो।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीका अनुसार बसमा यात्रा गरिरहेका सबै व्यक्तिको ज्यान गएको छ। आगलागीपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ। साथै, उक्त बससँग ठोक्किएका अन्य दुई सवारीसाधनमा सवार दुई जनाको पनि ज्यान गएको पुष्टि भएको छ।

दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ भने स्थानीय अधिकारीहरूले घटनास्थलमा उद्धार कार्य जारी राखेका छन्।

पछिल्ला महिनाहरूमा इरानले द्वन्द्व र आर्थिक संकटका कारण आफ्नो देशमा पुगेका हजारौँ अफगानी शरणार्थीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारेको छ। सन् १९७० को दशकदेखि लाखौँ अफगानी नागरिक इरान र पाकिस्तानतर्फ पलायन भएका थिए।

यस दर्दनाक दुर्घटनाले अफगान शरणार्थीहरूको अवस्था र उनीहरूलाई फर्काउने प्रक्रियाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।


सम्बन्धित समाचार