७ भदौ, नयाँ दिल्ली । भारतको उत्तराखण्ड राज्य अन्तर्गत चमोली जिल्लामा अविरल आरीघोप्टे वर्षाका कारण बाढी आएको छ। बाढीमा परेर एक महिलाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता रहेका छन्। बीबीसी हिन्दीका अनुसार, थराली क्षेत्रमा गएराति आधा घण्टासम्म मुसलधारे वर्षा भएपछि बाढी आएको थियो। बाढीका कारण केही घरहरूमा क्षति पुगेको र स्थानीय जनजीवन प्रभावित भएको बताइएको छ।
राष्ट्रिय राजमार्ग अवरुद्ध, उद्धार कार्य जारी
चमोली प्रहरीका अनुसार, वर्षाको कारण थरालीलाई जोड्ने कर्णप्रयाग–ग्वालदम राष्ट्रिय राजमार्ग अवरुद्ध भएको छ। बाढीमा फसेका स्थानीय बासिन्दाहरूको सुरक्षाकर्मीहरूले उद्धार गरिरहेको जनाइएको छ। खोज तथा उद्धार कार्यमा प्रहरी, एनडीआरएफ (ल्म्च्ँ), र स्थानीय प्रशासन सक्रिय छन्।
यसैबीच, भारतको राजस्थानका ११ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ। त्यस्तै, हिमाञ्चल प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ।
यसअघि उत्तरकाशीमा पनि ठूलो क्षति
केही दिनअघि मात्र उत्तराखण्डकै उत्तरकाशी जिल्लामा बाढी आउँदा केही व्यक्तिको ज्यान गएको थियो भने १०० भन्दा बढी मानिसहरूको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले जनाएका छन्। वर्षाको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक राहत सामग्री तथा उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

















